![]()
काठमाडौं । राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले अध्यक्ष कमल थापाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी फुटाउनेसम्मको कसरत गरेपछि अध्यक्ष थापा अर्का नेता लोकेन्द्रबहादुर चन्दको शरण परेका छन । अध्यक्ष थापाले पार्टीलाइ फुटबाट जोगाउनका लागि भूमिका खेलिदिन आग्रह गरेका छन । थापाकै आग्रहमा चन्द निवास लोकन्थलीमा आइतवार दिउँसो तीन नेताबीच छलफल भएको छ ।
शीर्ष नेताहरुबीच असोज २ को २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचन र त्यसपछिका प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका विषयमा छलफल हुने बताइएपनि उनीहरुबीच पार्टी संचालन पद्धती, अध्यक्ष थापाको कार्यशैली, सरकारमा सहभागिता तथा संविधान संशोधन लगायतका विषयमा ठूलै चर्काचर्की परेको छ ।
यसअघि पार्टीको केन्द्रीय समिति बैठकमा पनि वरिष्ठ नेता राणा बिरामीको बाहना गरी अनुपस्थिति भएका थिए । थापाले एकलौटी रुपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरी आफूखुशी बिज्ञप्ती निकालेको, सरकारमा सहभागी नहुने निर्णय गरेको, वार्ता टोली भंग गरेको लगायतका विषयमा राणाको असन्तुष्टि छ ।
चन्द निवासमा बसेको बैठकमा अध्यक्ष थापाले राणालाई फकाउन मनोनित गर्न बाँकी केन्द्रीय सदस्यहरु राणाको सिफारिसमा गर्ने प्रस्ताव गरेका थिए । राणाले भने उनको प्रस्ताव ठाडै अस्वीकार गरेको बुझिएको छ ।


