![]()
काठमाडौं । व्यवस्थापिका संसद्को बैठकले रौतहटको गरुडा नगरपालिका ४ मा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको विषयमा जवाफ दिन सरकारलाइ रुलिङ गरेको छ । नेकपा एमालेले सडक बिभागको लापरवाहीका कारण यो घटना भएको भन्दै उभिएर संसद अवरोध गरेपछि सभामुख ओनसरी घर्ती मगरले सरकारलाइ रुलिङ गर्नुभएको हो ।
संसद् बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले रौतहटको गरुडा नगरपालिका–४ मा रामएकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साह, प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको मृत्यु नभएर हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
’डिभिजन सडक कार्यालयका ठेकेदारले खनेको खाल्डो न त समयमा पुरिएको छ, न त कुनै खतराको संकेत नै राखिएको छ,’ ढकालले भने, ’सरकारी लापरवाहीका कारण दुई महिनामा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।’
सरकारको ध्यानाकर्षण गराउँदासमेत चासो नदेखाएको भन्दै उनले सरकारको जवाफ नआउँदासम्म संसद् चल्न नदिने बताए ।
ढकालले बोलिसकेपछि सभामुख घर्तीले यस विषयमा संसद्को ध्यानाकर्षण भएको भन्दै जवाफ दिन म सरकारलाइ निर्देशन दिएकी थिइन ।


