Breaking News.... EverestOnlineKhabar
May 12, 2026

कांग्रेस सांसद गुरुङ संसदमा फायर, लेखा समितिमा पनि गरे बबाल

Loading

काठमाडौं । भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कुसंस्कार लगायतका मुद्दामा खुल्लमखुल्ला बिरोधमा उत्रिएर पृथक परिचय बनाएका कांग्रेस सांसद धनराज गुरुङ बुधवार पनि संसदमा आक्रोशित देखिए । मुलुकमा भ्रष्टाचार र बेथिती बढ्नुमा सत्तारुढ दल र तीनकै नेता जिम्मेवार रहेको भन्दै उनले आफनै पार्टी सभापतिको नेतृत्वमा बनेको सरकारमाथि पनि प्रहार गरे ।

बुधवार संसदमा बोल्दै उनले भने‘ कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल राजनीतिक पछ्यौरी छोपेर भागेका हुन । ’ नक्कली भ्याट बिल बनाएर ठग्नेहरुमाथि छानबिनको साटो ढाकछोप गरिएको, एनसेलबाट अर्बौँ रुपैयाँ कर असुली गर्नुपर्नेमा उन्मुक्ति दिलाउन पटक पटक प्रयास भएको भन्दै उनले आक्रोश पोखे ।

‘पनामा पेपर्स काण्डमा केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री पदच्युत भए पनि त्यही कान्डमा मुछिएका नेपालका १३ उद्योगपति र व्यापारीका विषयमा किन छानबिन भएन ?’, गुरुङले सोधे, ’दुनियाँका अगाडि मुख देखाउन लाज भो । ’

गुरुङले भने, ‘आयल निगममा भ्रष्टाचार हुँदा कानमा तेल, आँखामा पट्टी बाँधेर बस्ने ? के नेपाली जनता अब भ्रष्टाचारीहरुले चुसेर ख्याउते अनुहार लाएर बस्नुपर्ने हो ?’  कालोसूचीमा परेको गेजुवा कम्पनीलाई बूढीगण्डकी बनाउन किन ठेक्का दिएको ? गुरुङ प्रश्नमाथि प्रश्न तेस्र्याउँदै थिए ।

नाङ्गो रुपमा अनियमितता भएको देख्दा पनि एमाले चुप लागेकोतर्फ इङ्गित गर्दै उनले भने ‘काले काले मिलेर खाउँ भाले भएकै हो कि क्या हो ?
गुरुङ लेखा समितिमा पनि फायर
सांसद गुरुङसहित अन्य सांसदले लेखा समितिको बैठकमा आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न जग्गा खरिदमा करोडौं रुपैयाँको भ्रष्टाचार भएको दाबी गरेका छन् । उनीहरुले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन नहुने बताए ।

सांसद गुरुङले भने जग्गा खरिदमा भ्रष्टाचार नांगो आँखाले देखिने गरी भएको छ । ३ लाख रुपैयाँ पर्ने जग्गालाई १० लाख रुपैयाँमा खरिद गरिएको छ । हरेक ठाउँमा फरक फरक व्यक्तिबाट बिचौलीयाले मालपोतबाट पास गरेका छन् । बिचौलीया राखेर कामकर्तुत गरेको सबैलाई थाह छ । भ्रम छर्नका लागि मात्रै टेण्डर किन ?

उनले भने, ‘टेण्डर र बोलपत्रको नाटक गरेर कमिसनको जालझेल रचेको प्रष्ट छ । यस्तो नौटंकी गर्न पाइन्छ ?’ तत्काल छानबीन गरी भ्रष्टचारीलाई कारबाहीको दायरामा ल्याउन किन ढिलाइ ? उनले प्रश्न गरे ।

समितिको बैठकमा सांसद डिम्पलकुमारी झा, सांसद भरत शाह, सांसद रामहरी खतिवडा लगायतले पनि आयल निगमको नेतृत्वले जग्गा खरिदमा चर्को भ्रष्टाचार गरेको भन्दै कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका थिए ।

समितिको बैठकमा उपस्थित आपूर्ति मन्त्री शिवकुमार मण्डलले तत्काल छानबिन गर्ने जवाफ दिएका थिए ।

निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले भने छिटोभन्दा छिटो भण्डारण बनोस् भन्ने उदेश्यले जग्गा खरिद गरिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.