![]()
काठमाडौं । नेपाल टेलिकमको गुणस्तर दैनिक खस्किदै गएपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भएको छ । सोमबार टेलिकमबारे लामो छलफल गर्दै समितिले सेवा सुधार्ने तीन महिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना एक हप्ताभित्र समितिमा पेस निर्देशन दिएको छ ।
समितिले बजारमा खरो उत्रन सक्ने लगानी, सेवाको विस्तार, गुणस्तर र प्रतिफलको खाका सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । टेलिकमका ग्राहकको संख्यामा वृद्धि हुँदै गएपनि आय र मुनाफामा वृद्धि नभई वित्तिय अवस्था कमजोर हुँदै गएको प्रश्न सांसदहरुले उठाएका थिए ।
यस्तै काठमाडौं र पोखरामा सञ्चालन गरिएको फोरजी सेवाको विस्तार अपेक्षित रुपमा हुन नसकेको समितिले निष्कर्ष निकालेको छ । फोर जी सेवा सञ्चालन गर्नका लागि सन २०१६ र सन २०१२ मा आपुर्ति कर्ता कम्पनि एमएस हवाई टेक्नोलोजिजसँग भएको सम्झौता, सम्झौताका शर्तहरु, सम्झौताको रकम र सेवा विस्तारको योजना ७ दिन भित्र समितिलाई उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।
जिएसयम मोबाइल सेवा नपुगेका स्थानमा सेवा विस्तारका लागि टावर निर्माणमा ढिलाई हुनुका कारण र ६ महिनाभित्र टावर निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको कार्ययोजना उपलब्ध गराउन समितिले भनेको छ ।
काठमाडौं र पोखरामा सुरु भएको फोर जी सेवा सस्तो सुलभ र गुणस्तरीय बनाउँदै मुलुकभर विस्तार गर्ने कार्ययोजना १५ दिनभित्र समितिलाई उपलब्ध गराउन पनि भनिएको छ ।
पिएसटिएन, सिडियमए र वाई म्याक्सको आम्दानी घट्दै गएकाले ती सेवालाई सस्तो र सुलभ बनाउँदै आय वृद्धि गर्ने लक्ष्य निर्धारण गरी कार्ययोजना समितिमा उपलब्ध गराउन समितिले निर्देशन दिएको छ ।


