![]()
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जग्गाको भाउ बढाएको छ । मालपोत कार्यालयले शहरी क्षेत्रमा १० देखि १५ र ग्रामीण क्षेत्रमा ५० प्रतिशतसम्म भाउ वृद्धि गरेको छ । सरकारले चक्रपथभित्र जग्गाको भाउ यथावत राख्दै चक्रपथ बाहिरका क्षेत्रहरुमा मात्र मूल्य हेरफेर गरेको हो ।
काठमाडौंको साँखु मालपोत अन्तर्गतका जग्गामा १० देखि ५० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ । मुल सडकसँग जोडिएका जग्गाहरुमा १० देखि ५० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ । मूल्यवृद्धि भएका ठाउँहरुमा आलापोट, ईन्द्रायणी, गागलफेदी, डाँछी, पुखुलाछी, भद्रवास र लप्सीफेदी रहेका छन् । मूल्याङ्कन बढाएसँगै अब यो क्षेत्रमा डाँछीका जग्गा १० लाख रुपैयाँ प्रति आना भएका छन ।
लप्सीफेदीमा ५० प्रतिशतले मूल्याङ्कन बढाउँदै एक लाख रुपैयाँ प्रति आनाका जग्गा अब डेढ लाख प्रति आनामा पुगेका छन ।
यस्तै, भक्तपुरमा १० प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । भक्तपुरमा नगरकोट जाने मुल सडक, दधिकोट जाने मुल सडक, बालकोट जाने मुल सडक र त्यसका सहायक सडकमा जग्गाको मूल्याङ्कन ४० प्रतिशतसम्म बढेको छ । भक्तपुरमा प्लानिङ भएका जग्गा खासगरि २० फुटे बाटोले छोएका जग्गाहरुको मूल्याङ्कन बढाईएको छ ।
कलंकी मालपोत कार्यालयले पनि त्रिभुवन राजपथमा १५ प्रतिशतसम्म जग्गाको मूल्याङ्ककन बढाएको छ । कलंकी, सतुङ्गल र नैकाप सम्मको बाटोमा १५ प्रतिशत र अन्य मूख्य सडकमा ५ देखि १० प्रतिशतसम्म भाउ बढाइएको छ । यो हिसाबले यहाँ ७ लाख रुपैयाँ प्रति आनादेखि ११ लाख रुपैयाँ प्रति आनासम्म कायम भएको छ ।
ललितपुर मालपोत कार्यालयले पनि सहरी र ग्रामीण दुवै क्षेत्रमा १० प्रतिशतले मूल्याङ्कन बढाएको छ । महानगरपालिकाभित्र कुपण्डोल जावलाखेल– लगनखेल सडकमा प्रति आना ३० लाख रुपैयाँ कायम गरिएको छ । चक्रपथ वरपर भने १८ लाख रुपैयाँ प्रति आना कायम भएको छ ।


