![]()
काठमाडौ, ८ साउन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् । २ साउनदेखि जारी पार्टी सचिवालयको विस्तारित बैठक शनिबार टुंग्याउँदै दाहालले दुई चरणको स्थानीय चुनावको नतिजा हेर्दा त्यस्तो अनुभूति भएको बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले भनेः‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि माओवादी लडाइँको उपज हो, तर यसलाई हामीले जनतामा ठीक ढंगले लैजान चुक्दा परिवर्तनका विरोधीहरू हावी भए, एजेन्डा हाम्रा थिए, अरूले हाइज्याक गरे । अब हामी यत्तिकै बस्ने कि जनतामा जाने ?’ बैठकको अन्तिम दिन दाहालको मुख्य तारो एमाले बनेको थियो । उनले एमाले वामपन्थी पार्टी भन्ने गरे पनि परिवर्तन कमजोर पार्न भूमिका खेलेको आरोप लगाए ।
उनले अगाडी भनेः‘ जसले वैदेशिक शक्तिकेन्द्रसित साँठगाँठ गरेर नेपालको परिवर्तन प्रक्रियामाथि निरन्तर आक्रमण गरिरह्यो, आज उही सबभन्दा ठूलो राष्ट्रवादी देखिने विडम्बनापूर्ण अवस्था छ,’ एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दाहालले भनेः‘एमालेलाई सही ठाउँमा ल्याउन हामीले प्रयास गरेकै हो, सहकार्य पनि गरेको हो । राजनीतिक शक्तिसन्तुलन र संविधान कार्यान्वयनका लागि अझै पनि एमालेलाई सच्चिन उत्प्रेरित गर्नुको विकल्प छैन ।’


