Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अन्तर्घातले २५ स्थानमा हार भएको एमालेको निष्कर्ष……..

Loading

काठमाडौ,२७ असार ।
दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ। सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ। दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ। मोरङको सुन्दर हरैँचा, रतुवामाई, केराबारी, लेटाङसहित चार स्थान, झापाको गौरादह, हल्दिबारी, बुद्धशान्ति, गौरीगन्ज र मेची नगरपालिका, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पाँचथरको फिदिममा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको एमालेको निष्कर्ष छ।
त्यस्तै, पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रूपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ र विनायक नगरपालिका, बर्दियाको गुलरिया र राप्ती सोनालीलगायतका २५ भन्दा बढी तहमा पनि जित्ने निश्चित हुँदाहुँदै अन्तर्घातकै कारण गुमाउनुपरेको एमालेको निष्कर्ष छ। सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी र अनेकौँ प्रतिकूलताका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेको निष्कर्ष छ।
त्यस्तै, बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि १ साउनदेखि मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको सूचनाअनुसार योजनाबद्ध रूपमा लाग्न मातहत कमिटीलाई निर्देशित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.