![]()
काठमाडौ,१८ असार ।
शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । शहिद दशरथ चन्दको १ सय १५ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा क्षेत्रगत रुपमा ५ र पाराबाट २ खेलाडी नगदसहित सम्मानित भए । २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको हो । पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए ।
पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथलेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएकोमा पहिलोपटक पारा विधामा खेलाडीलाई सम्मान गरेको हो । त्यस्तै मरणोपरान्त अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितलाई पनि सोही अवसरमा सम्मान गरियो । सञ्जयको असार ३ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण क्रममा निधन भएको थियो ।
सम्मानित सबैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरियो । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), राखेपका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलाडीलाई सम्मान गरे ।


