![]()
नेपाली कांग्रेसमा महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै कार्यकर्ताहरूलाई फरक-फरक आह्वान गरेपछि पार्टीभित्रको ध्रुवीकरण थप चर्किएको हो।

गगन थापाको आह्वान: ‘असोज ३ र ४ गतेको वडा अधिवेशनमा जुटौँ’
सभापति गगन थापाले असोज १६ देखि १९ सम्म काठमाडौँमा तय गरिएको १५औं महाधिवेशनका लागि असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन अपिल गरेका छन्। लोकतन्त्रमा फरक मत हुनु सामान्य रहेको र ती मतको सम्मान गर्दै विधि र पद्धतिबाट समाधान खोजिनुपर्ने उनको भनाइ छ। विशेष महाधिवेशनपश्चात् हुन लागेको यस प्रक्रियामा तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेकाले सबैलाई एकताबद्ध भएर महाधिवेशन सफल पार्न उनले आग्रह गरेका छन्।
शेरबहादुर देउवाको चेतावनी: ‘मंसिरको महाधिवेशन वैध, असोजको प्रक्रियामा सहभागी नहुनू’
अर्कातर्फ, निवर्तमान सभापति शेरबहादुर देउवाले ६ बुँदे अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरले बोलाएको अधिवेशनलाई अवैधानिक भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन्। १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतले १५औं महाधिवेशन सम्पन्न गरी विधिवत् नेतृत्व हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको देउवाको दाबी छ। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले हतारमा अधिवेशन गराउनु गलत भएको उल्लेख गर्दै उनले डा. शशांक कोइराला संयोजक रहेको समितिले तोकेको आगामी मंसिर २१ देखि २३ गतेको महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। सहमतिबेगर हतारमा एकपक्षीय रूपमा अधिवेशन गराएर पार्टी विभाजन गर्न खोजिए आफू मूकदर्शक बनेर नबस्ने चेतावनीसमेत उनले दिएका छन्।

डा. शशांक कोइरालाको संयोजकत्वमा समितिहरू गठन
विवादकै बीच देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नका लागि चारवटा विभिन्न समितिहरू गठन गरेको छ। दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहँदा नेपाली कांग्रेसको भविष्य र आसन्न महाधिवेशनको वैधानिकतामाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ।


