Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मन्त्री लम्सालको गर्जन: “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन !”

Loading

धादिङ, १ असार (एभरेष्ट अनलाइन खबर)।

नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षणका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ सार्वजनिक रूपमै निर्देशन दिएपछि उनी विवादमा तानिएका छन्। मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर कानुन हातमा लिने शैलीमा यस्तो निर्देशन दिएपछि अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा मन्त्री लम्सालको तीव्र आलोचना भइरहेको छ।

आइतबार बुटवलदेखि निरीक्षण गर्दै काठमाडौं फर्किने क्रममा मन्त्री लम्सालले नागढुंगा–मुग्लिङ सडक खण्डको वस्तुस्थिति नियालेका थिए। सो क्रममा सडक विस्तारमा बाधक बनेका बिजुलीका पोलहरू समयमै नसारेको थाहा पाएपछि उनी ठेकेदारप्रति आगो बनेका हुन्।

सार्वजनिक भएको र अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा मन्त्री लम्सालले आक्रोशित हुँदै भनेका छन्:

“यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन। यिनीहरूले चाँडै भन्दा चाँडै पोल सार्न पर्यो। यहाँको पब्लिकले धेरै दुःख पायो।”

उच्च अधिकारीकै अगाडि धम्की

मन्त्री लम्सालले यस्तो विवादस्पद र आक्रोशपूर्ण निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिला अधिकारी (सिडिओ) लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक (एसपी) सुमित खड्कासमेत उनीसँगै मञ्चमै उपस्थित थिए। जिम्मेवार सरकारी तथा सुरक्षा निकायका प्रमुखहरूकै अगाडि मन्त्रीबाटै ‘खुट्टा भाँचिदिने’ जस्तो धम्कीपूर्ण भाषा प्रयोग हुनुले कानुनी राज्यको उपहास भएको भन्दै नागरिक स्तरबाट विरोध सुरु भएको छ।

प्रशासनको बचाउ, आयोजनाको आफ्नै सास्ती

यस विषयमा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले भने मन्त्रीको बचाउ गर्दै मन्त्री लम्सालले समयमा काम सक्नका लागि मात्रै कडा निर्देशन दिएको दाबी गरेकी छिन्।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) की आयोजना प्रमुख सजना अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्ष अगाडि नै बिजुलीको पोल सार्ने सम्झौता भएको थियो। प्राधिकरणको ठेकेदार कम्पनीले पोल नसार्दा बाटो विस्तारको काम ठप्प बनेको र हाल पश्चिम खण्डमा १०७ वटा तथा पूर्वी खण्डमा ८० भन्दा बढी पोल सार्न बाँकी रहेको छ।

मन्त्री लम्सालले यसअघि पनि दुई जना निर्माण व्यवसायीहरूलाई प्रहरी लगाएर नियन्त्रणमा लिई मन्त्रालयमा हाजिर गराएका थिए, जसका कारण उनी पहिलेदेखि नै निर्माण व्यवसायीहरू माथि आक्रामक रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed