![]()
२०७७ पुस २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छन । गल्ती स्वीकार गरी निर्णय नसच्याए ओलीको पतन पक्का भएको पनि पार्टी अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालले बताउनुभयो । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा प्रचण्ड माधव समूहका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै अझै सच्चिने अवसर रहेको बताउनुभयो । अध्यक्ष नेपालले संसद विघटन गर्ने निर्णय बेठिक भएको प्रस्ताव मन्त्रिपरिषदबाट पास गर्न सकिने सल्लाह दिनुभयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चिन तयार नभए ओलीको पतन अनिवार्य भएको बताउनुभयो । संसद विघटन गरेर ओलीले कलंकको टीका लगाएको भन्दै प्रचण्डले भन्नुभयो ‘अब त्यो टिका पुछिँदैन’ । ७० प्रतिशत केन्द्रीय समिति आफूसँग रहेको र निर्वाचन आयोगमा पुगेर छलफल गर्दा आफूहरुको विजय निश्चित देखेको पनि प्रचण्डले दावी गर्नुभयो । प्रचण्ड ओलीतिर लागेका पूर्व माओवादीका सहकर्मीलाई देख्दा आफूलाई लाज लागेको पनि बताउनुभयो ।।


