Breaking News.... EverestOnlineKhabar
May 11, 2026

झ्याप्प झ्याप्प बिजुली जाने कारणको खोजी

Loading

२०७७ पुस २७ काठमाडौँ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।
प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने(ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.