Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सिरहामा धान उत्पादन बढाउने परियोजना

Loading

– मेनुका भण्डारी
तराई मधेश नेपालको उर्वर क्षेत्र हो । देशको उर्वर तराई मधेश धान उत्पादनको मुख्य क्षेत्र पनि हो । प्रमुख खाद्यन्न बाली धान नेपालमा बार्षिक करिव ४५ लाख मेट्रिक टन उत्पादन हुने गर्दछ । तर नेपालमा उत्पादित धानले आन्तरिक मागलाइ धान्न सक्ने अवस्था छैन । त्यसैले केही वर्ष अघिसम्म धान निर्यात गर्ने नेपालले अहिले आयात गर्नुपर्ने अवस्था छ । नेपालमा बार्षिक ३० अर्व रूपैयाँ बढीको धान आयात हुने गरेको तथ्यांक छ । धानमा प्रत्यक वर्ष परनिर्भरता बढेपछि सरकारले धानको उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न जिल्लामा धान जोन/सुपरजोन कार्यक्रम संचालन गरेको छ । क्षेत्रफल अनुसार सुपर जोन जोन र व्लक निर्धारण गरि संचालित कार्यक्रमको प्रमुख उद्येश्य कृषिमा आधुनिकिकरण र व्यवशायीकरण गरी उत्पादन बृद्धी गर्नु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २४ जिल्लामा धानको ब्लक पनि घोषणा गरिएको छ । यसक्रममा सिरहा जिल्लालाई पनि धान जोनमा समावेश गरिएको छ ।
सिरहामा ६५ हजार हेक्टर खेती योग्य जमीन छ । अत्यधिक जनसंख्या कृषि निर्भर सिरहामा प्रमुखरूपमा धान लगाइएपनि मिश्रित खेती प्रणाली छ । तर धान उत्पादनका लागि पनि सिरहा अत्यन्तै उर्वर मानिन्छ । त्यसैले आर्थिक वर्ष २०७४/७५ बाट सिरहामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरिएको हो । परियोजना लागू भएको दुई आर्थिक वर्ष वितेको छ । सिरहा जिल्लामा दुई नगरपालिका र दुई गाउँपालिकामा धान जोन कार्यक्रम लागू भएको छ । धानमा आत्मनिर्भर बन्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रम संचालन गरिएको हो । कम लगानीमा बढी भन्दा बढी धान उत्पादन गर्ने लक्ष्य धान जोन कार्यक्रमको रहेको छ । त्यसैगरी परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी उन्नत प्रविधिबाट उत्पादन र उत्पादकत्व बढाएर धानको आयातलाइ कम गर्दै लैजाने परियोजनाको उद्देश्य रहेको छ ।
अन्नवालीमा सिरहाको मुख्य उत्पादन धानबाली नै हो । त्यसैले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिरहाका लागि धान जोन कार्यक्रम अत्यन्तै उपयुक्त रहेको छ । किनकी धान जोन कार्यक्रमबाट बढी भन्दा बढी किसानले प्रत्यक्ष फाइदा लिन सक्नेछन् । प्रदेश नं २ को पूर्वी तराइमा अवस्थित सिरहा जिल्ला भूगोल र जनसंख्यामा बृहत छ । तर विकासको सूचांकमा सबैभन्दा पुछारमा रहेको छ । त्यसैले विकास तथा उत्पादनसंग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता र तीनमा किसानको पहुँच बढाउन सरकारले दिने अनुदान रकम बढाउनु पर्दछ । यसैगरी कार्यक्रमहरुको दायरा समेत फराकिलो पार्नुपर्ने देखिन्छ ।
धान उत्पादनका लागि सिंचाई पहिलो शर्त र आवश्यकता हो । तर सिरहामा भूमिगत सिंचाई वाहेक अन्य कुनै पनि सिंचाईको सुविधा उपलव्ध छैन । त्यसैगरी मल खाद् समेत समयमै सजिलै र सहजै उपलव्ध हुँदैन । यसका साथै किसानले उत्पादन गरेका धानको समर्थन मूल्य पनि समयमै नतोकिनु किसानका लागि अर्को समस्या भएको छ । नेपालमा कृषिको पर्याप्त संभावना छ । कृषिमा आधारित अर्थतन्त्रबाटै समृद्धी संभव छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.