![]()
२०७७ पुस २४, काठमाडौं । अमेरिकालगायतका विश्वका शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतामा अमेरिकालाई फिर्ता गर्नु इरानको चासोको विषय नभएको इरानी सर्वोच्च नेता आयातोल्ला अली खमेनीले बताउनुभएको छ । जो बाइडेनले जनवरी २० मा सपथ ग्रहण गरेपछि अमेरिकाले सन् २०१५मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको आणविक सम्झौतालाई फिर्ता लिनसक्नेबारे गरिएको प्रश्नमा उहाँले भन्नुभयो, “इरानलाई अमेरिकाले एकतर्फी लगाएको प्रतिबन्ध हटाउनु मुख्य चासोको विषय हो तर पूर्व सम्झौतामा फर्काउनु हतार छैन ।”
खमेनीले भन्नुभयो, “हामी उनीहरूलाई आणविक सम्झौतामा फर्कन भनिरहेका छैनौं । यसमा हामीलाई हतार पनि छैन । तार्किक र बौद्धिक दुबै मानिने हाम्रो माग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा आणविक सम्झौताबाट फिर्ता भएको घोषणापछि इरानमाथि एकपक्षीयरूपमा लगाएको प्रतिबन्धहरूको अन्त्य गर्नुपर्छ भन्ने हो ।”
अमेरिकाले सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले सन् २०१९ क्रमिक रूपमा आणविक सम्झौता अन्तर्गत आफ्ना मुख्य दायित्वहरूको कार्यान्वयनलाई बिस्तारै छोड्दै गइरहेको छ । इरानले प्रतिबन्ध नहटाएको बदलामा आफ्ना गतिविधिलाई नियन्त्रण गर्ने विषयलाई सीमित बनाएको छ ।।रासस


