![]()
२०७६ फागुन २०, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याएका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम सन् २०४०स् दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठी’को शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहन रूपले चिन्तन मनन गर्नुपर्ने बताए ।
जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वान्को भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको मुख्यमन्त्री राउतले बताए । प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले तयार रहेको पनि उनले जानकारी दिए । मुख्यमन्त्री राउतले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला भएको र सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी सङ्घीय सरकार पुरानै मानसिकतालाई महत्व दिइरहेको आरोप लगाए ।
उनले ‘सङ्घीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण’ प्रदेशमा विकासले गति लिन नसकेको र आगामी दिनमा प्रदेश सरकार सङ्घविरुद्ध आन्दोलनमा समेत जानसक्ने बताए । उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको समारोहमा नेपाल शहरी उत्थानशील परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीले सन् २०२० पछि जनकपुरधाम कस्तो हुने सोच प्रस्तुत गरे । कार्यशाला बुधबारसम्म चल्नेछ । रासस


