Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ फागुन १९, कास्की । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटन लक्षित नमस्ते अभियान घोषणा गरेको थियो । अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ । विगतमा भेट्दा हात मिलाउने साथीभाइले पनि एकापसमा अहिले दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा सङ्क्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गर्न दिएको सुझाव यतिखेर जनस्तरबाट कार्यान्वयन गर्न थालिएको हो ।

सामाजिक सङ्घसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा अधिकांश सदस्यले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बढ्दै गरेको अवस्थामा सरकारले यसतर्फ चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । कोरोना भाइरसको हल्लासँगै पोखराको पर्यटनमा नकारात्मक प्रभाव पारेको छ । भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले समयसमयमा पर्यटन व्यवसाय प्रभावित भए पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिएका पर्यटन व्यवसायी अहिले पनि यसको विकल्पको खोजीका लागि निरन्तर जुटिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् । विकल्पको खोजीका साथै सम्भाव्य जोखिमबाट बच्नका लागि सचेतना अभिवृद्धि गर्न पनि आफूहरू लागिपरेको उनले बताए ।

उनका अनुसार सचेतनालाई नै लक्ष्य गरी पोखरा पर्यटन परिषद्को आयोजनामा आज साँझ लेकसाइडमा सचेतनामूलक सद्भावना ¥याली आयोजना गरिएको छ । व्यक्ति÷व्यक्ति होस् वा समूहमा अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ । पोखराका सामान्य चिया पसल एवम् चोकदेखि प्रदेशका मन्त्रालय, प्रदेशसभा आदि स्थानमा यतिखेर एकापसमा नमस्ते गर्दै अभिवादन गरेको देख्न सकिन्छ ।

कोरोना भाइरसको सङ्क्रमणको हल्ला शुरु भएयता पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेको होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । पोखरामा होटेल व्यवसायमा खर्बौंको लगानी भइसकेको बताउँदै उनले कोरोनाका कारण यतिखेर व्यवसायी ठूलो मारमा परेको उल्लेख गरे । ‘पर्यटन व्यवसायमा परेको मारलाई दृष्टिगत गर्दै सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्ने देखिएको छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले पनि यस्तो समयमा ब्याजदरमा सहुलियत प्रदान गरी बैंक तथा व्यवसाय दुवै सँगसँगै चल्न सक्ने वातावरण निर्माण गर्नु अपरिहार्य छ ।’

घुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग ठोक्किने बताउँदै उनले सङ्क्रमणबाट जोगिनका लागि सकेसम्म सचेत बन्नाको विकल्प नभएको बताए । सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि पछिल्ला दिन पोखरामा हात मिलाउने भन्दा पनि नमस्ते गर्ने प्रचलन बढिरहेको उनको भनाइ छ । बेलैमा सावधानी अपनाउन सके यसको सङ्क्रमणबाट जोगिन सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.अर्जुन आचार्यले बताए । स्वास्थ्य संस्थाहरूले सम्भाव्य जोखिमलाई लक्ष्य गरी त्यसको तयारी गरेको बताउँदै उनले सर्वसाधारण पनि सचेत बन्नुपर्ने औँल्याए । चिकित्सकले सङ्क्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिएका छन् ।

त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्न उनीहरूको सुझाव छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed