![]()
२०७६ फागुन १८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए । उनले हानेको जुत्ता प्रचण्डलाई लागेन । तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए । अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए । उनले नेपालगञ्जमा अमिन पढेका थिए । अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए । ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ । उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो । पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन । मलाई चित्त बुझेन । अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् । पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए ।


