![]()
२०७६ माघ २२, पर्सा । छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाका एकजना पक्राउ परेका छन् । ती परुषमाथि १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोप छ । पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनीमाथि अनुसन्धान सुरु गरिएको शाहीले बताए । अभियुक्तले शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले बताएको प्रहरीले जनाएको छ ।
पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको स्थानीयले बताएका छन् । घर नजिकै गाउँमा एक व्यक्तिको मृत्यु भएपछि हेर्न जाने बहानामा किशोरी घरबाट फुत्किएर इलाका प्रहरी कार्यालय पोखरिया पुगेर प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ । उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । किशोरीको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको छ । रिपोर्टका आधारमा थप प्रकृया अगाडि बढ्ने प्रहरी नायव उपरीक्षक शाहीले बताए ।


