![]()
२०७६ माघ १३, काठमाडौँ । प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउतलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । आस्था राउतले सोमबार बिहान प्रहरी परिषर काठमाडौँमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो । प्रहरीको माग अनुसार गायिका राउतलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि चार दिन म्याद थप गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । राउत परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई यसअघि नै अनुमति दिएको थियो । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् । विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै दुई हप्ताअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो । लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो । राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छन् । यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ ।


