![]()
२०७६ माघ १२, हेटौंडा– सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना पक्राउ परेका छन् । मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ घर भएका ३९ वर्षीय महमद अलिद, एम्बुलेन्समा सवार रौतहटको डुमरीय नगरपालिका–४ कै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुर घर भएका २२ वर्षीय बिनोद सहनी छन् । प्रहरीका अनुसार उनीहरुले एम्बुलेन्समा राखेर ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेका थिए । मकवानपुरको मनहरीबाट गाँजा लोड गरेको एम्बुलेन्सलाई हेटौंडातर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्गको नेवारपानीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


