![]()
२०७६ पुस १७, । भारतीय टिमका अलराउण्डर हार्दिक पाण्डेयले सर्बियाली अभिनेत्रीसँग इनगेजमेन्ट गरेका छन् । हार्दिकले सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनगेजमेन्ट गरेका हुन् । उनले नयाँ वर्षको पहिलो दिन बुधबार इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्टको पुष्टि गरेका हुन् । नताशाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हार्दिकले विवाहका लागि गरेको प्रस्तावको भिडियो पोस्ट गरेकी छन् । हार्दिकले नयाँ वर्षको अवसरमा गरेको पहिलो पोस्टमा नताशासँगको तस्बिर राखेर ‘स्टार्टिङ्ग द यअर विथ माई फायरवर्क’ लेखेका थिए ।
त्यसपछि उनले नताशालाई औँठी लगाइदिएको तथा विवाहका लागि गरेको प्रस्तावका केही तस्बिर र भिडियो पोस्ट गरेका हुन् । सो पोस्टमा उनले लेखेका छन्, ‘मैं तेरा, तू मेरी जाने, सारा हिन्दुस्तान’ लेखेका थिए ।सर्बियाली नागरिक नताशा भारतीय चलचित्र उद्योगमा सक्रिय छन् र हाल मुम्बईमा बस्दै आएकी छन् । उनी मोडल तथा डान्सर पनि हुन् । २७ वर्षकी नताशाले सन् २०१४ मा आएको प्रकाश झाको चलचित्र सत्याग्रहबाट करिअर सुरु गरेकी थिइन् । सो चलचित्रमा उनले एउटा आइटम गीतमा नाचेकी थिइन् ।
त्यसपछि उनी एक्शन ज्याक्सन, फुकरे रिटन्र्स, ड्याडी, जिरो र यारमसहितका चलचित्रमा काम गरेकी छन् । हालै उनी इमरान हाशमी र ऋषि कपूर अभिनित चलचित्र द बडीमा पनि देखिएकी थिइन् । यस्तै उनी सन् २०१४ मा बिग बोस तथा सन् २०१९ मा नच बलिएमा सहभागी भएकी थिइन् । हार्दिकलाई भारतीय टिमका कप्तान विराट कोहलीले इनगेजमेन्टका लागि बधाई दिएका छन् । यस्तै साथी खेलाडी कुलदीप यादवले पनि शुभकामना दिएका छन् । २६ वर्षका हार्दिक अहिले कम्मरको चोका कारण भारतीय क्रिकेट टिमबाट बाहिर छन् ।


