![]()
काठमाडौँ। सुनसरीको दुहबी–२ का स्थानीयबासीले एक स्टिल उद्योग सञ्चालनका क्रममा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन विपरीत गरेको पाइएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। दुहबी नगरपालिका – २ मा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको सञ्चालन स्वीकृति गोप्य, जालझेल, दवाव र प्रभाव, षडयन्त्रपूर्वक प्रारम्भिक वातावरणीय परीक्षण र प्रभाव मूल्यांकन बिना नै गलत भएको स्थानीयबासीको दावी छ।
नेता किशोर विश्वासको नेतृत्वमा शिक्षा मन्त्रालय पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामी प्रभावित स्थानीय जनता, जनप्रतिनिधि, साँधसधियार, गाउँ, समाज लगायतको रोहबर जानकारी र सहमतिबिना गोप्य रुपमा स्वीकृति लिइएको छ, ध्वनि, धुँवाधुलो लगायतका कारण जनस्वास्थ्य र जनजीविकामा असर परेको छ।’
११ बुँदे मागपत्र बुझाउँदै स्थानीयबासीले प्रिमियर स्टिल प्रालिको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने माग राखेका छन्। नवीन शिक्षा निकेतन आधारभूत माध्यमिक विद्यालय नजिकै रहेको उक्त उद्योग हटाउन स्थानीयको माग छ।
मागपत्र बुझेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले आफूले सम्बन्धित मन्त्रालयहरुसँग कुरा गरेर आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।


