![]()
बीबीसी । टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले साउदी पत्रकार जमाल खशोग्जीको हत्या कसले गरेको छ भन्ने साउदी अरेबियालाई थाहा भएको यसअघिको भनाइ दोहोर्याएका छन्। साउदी सरकारका कट्टर आलोचक खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासभित्र हत्या गरिएको थियो।
साउदी अरेबियाले खशोग्जीको हत्या त्यहाँ भएको स्वीकार गरेको छ तर त्यसमा साउदी शाहीपरिवारको संलग्नतालाई भने अस्वीकार गरेको छ।साउदी अरेबियाले यसअघि खशोग्जी सकुशल महावाणिज्य दूतावासबाट बाहिरिएको बताएको थियो।
साउदी युवराज मोहम्मद बिन सलमानले खशोग्जीलाई ‘खतरनाक इस्लामवादी’ भनी व्याख्या गरेको भनिएको टिप्पणी पनि साउदीहरूले अस्वीकार गरेका छन्। खशोग्जी कसरी मारिए भन्ने बारे अझै समान भनाइहरू छैनन्। उनी आफ्नो विवाहका लागि कागजात मिलाउन महावाणिज्य दूतावास प्रवेश गरेका थिए।
शुरुमा, टर्कीका सञ्चारमाध्यमहरूले खशोग्जीलाई यातना दिएर मारिएको भन्ने पुष्टि गर्ने अडिओ रेकर्डिङ्गहरू आफूसँग भएको भन्ने स्रोतहरूलाई उद्धृत गरी लेखेका थिए। गत साता टर्कीले महावाणिज्य दूतावास प्रवेश गर्ने बितिक्कै उनलाई घाँटी थिचेर हत्या गरिएको र पूर्वयोजनाअनुसार नै उनको शरीरलाई टुक्राटुक्रा पारिएको जनाएको थियो। त्यसपछि तेजाबमा हालेको टर्कीका अधिकारीहरूले बताएका थिए।
साउदी अरेबियाले खशोग्जीलाई के भएको थियो भन्ने आफ्नो भनाइ परिवर्तन गरेको छ।


