Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । “शहरिया माओवादीहरू शहरमा एसी भएका घरमा बस्छन्, सुकिलामुकिला देखिन्छन्। गाडी चढ्छन्, उनीहरूका छोराछोरी विदेशमा पढ्छन् तर रिमोट कन्ट्रोलबाट हाम्रा आदिवासी बालबालिकाको जिन्दगी बरबाद गर्छन्।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको भाषणको एउटा अंश हो यो। शुक्रवार एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी कांग्रेस माओवादी विद्रोहीसँग मिलेको आरोप लगाए। कांग्रेस आई माओवादीको ‘शहरी सञ्जालसँग मिलेको’ मोदीको भनाइ थियो।

त्यसको एक दिनपछि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पार्टीको घोषणापत्र जारी गर्दै तिनै आरोपलाई दोहोर्‍याए। त्यसपछि सामाजिक सञ्जालमा दुवै पक्षबाट वाक्‌ युद्ध शुरू भयो र दुवै पक्षले एकअर्काविरुद्ध कडा शब्दमा वक्तव्य दिए।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले ट्वीट गर्दै मोदीलाई प्रश्न गरे, “के तपाईँ पनि आफ्नो त्यो भनाइमा अडिग हुनुहुन्छ जब माओवादीलाई ‘आफ्नै मान्छे’ भन्नुभएको थियो?”

“के त्यो भनाइमा अडिग हुनुहुन्छ जब मुख्यमन्त्री रमन सिंहले माओवादी विद्रोहीलाई ‘धर्तीपुत्र’ भनेका थिए?”

“के तपाईँलाई थाहा छ माओवादीले कांग्रेसका २५ ठूला नेताको हत्या गरेका छन्?”

सुरजेवालाका अनुसार गुजरातमा मुख्यमन्त्री रहेका बेला सन् २०१० को मे २० मा मोदीले त्यस्तो अभिव्यक्ति दिएका थिए भने रमन सिंहले सन् २०१५ मा। कांग्रेस भन्छ, छत्तीसगढमा माओवादीविरुद्धको लडाइँमा सबैभन्दा बढी क्षति हाम्रै नेताले बेहोरेका छन्।

सन् २०१३ मा सुकमा जिल्लाको दर्भा उपत्यकामा माओवादीहरूले कांग्रेसका नेताहरूको एउटा समूहमाथि हमला गरेका थिए। सो हमलामा कांग्रेसका वरिष्ठ नेता महेन्द्र करमासहित २५ जना नेता मारिएका थिए। त्यसमा पूर्वगृहमन्त्री विद्या शुक्ल र कांग्रेसको छत्तीसगढ प्रदेश समितिका अध्यक्ष नन्दकुमार पटेल पनि थिए।

बीजेपीलाई भन्दा माओवादीहरू कांग्रेसलाई ‘ठूलो शत्रु’ मान्दछन् किनकि गृहमन्त्री रहेका बेला पी चिदम्बरमले माओवादीविरुद्ध ‘अपरेशन ग्रीन हन्ट’ शुरू गरेका थिए।

कांग्रेस नेता एवम् तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ‘भारतको आन्तरिक सुरक्षाका लागि माओवादी सबैभन्दा ठूलो खतरा’ भएको बताएका थिए, जसबाट माओवादीहरू चिढिएका थिए।

प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष अमित शाहले कांग्रेस आईले माओवादीको शहरी सञ्जाललाई समर्थन गरेको पनि आरोप लगाएका छन्। आखिर कसलाई ‘अर्बन नक्सल’ अर्थात् ‘शहरिया माओवादी’ भन्ने गरिएको छ त?

अग्नि अर्थात् ‘एक्शन ग्रुप फर न्याशनल इन्टेग्रिटी’ नामक संगठनका फारूक अलीका अनुसार माओवादी विद्रोहीलाई सहयोग गर्नेहरू नै ‘शहरिया माओवादी’ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.