![]()
काठमाडौँ। पुराना कम्युनिष्ट नेता पद्मरत्न तुलाधरको निधन भएको छ। नर्भिक अस्पतालमा उपचार गराइरहेका मानवअधिकारवादी तथा पुराना नेता तुलाधरको आइतबार दिउँसो एक बजे निधन भएको हो । मस्तिष्काघात भएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरेर नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनलाई नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टिमले उपचार गरिरहेको थियो। उनी ७७ वर्षका थिए।
दुई बामपन्थी पार्टीहरु एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आफू सबैभन्दा बढी खुसी भएको उनले बताएका थिए।
उनी नेपाल सम्बतलाई राष्ट्रिय मान्यता प्रदान गराउन थालिएको आन्दोलनको नेतृत्वदायी संस्था नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत थिए। उनले लामो समय पत्रकारितासमेत गरेका थिए।
तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।


