Breaking News.... EverestOnlineKhabar
August 8, 2026

फ्रान्सबाट स्वतन्त्र हुने वा नहुनेबारे जनमत सङ्ग्रह

Loading

बीबीसी । फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि भइरहेको जनमत सङ्ग्रह अन्तर्गत प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियाका मानिसहरूले मतदान गरिरहेका छन्। कानाक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि भएको सहमति अनुसार जनमत सङ्ग्रहको आयोजना गरिएको हो।

स्वतन्त्रता पक्षधर समूहरूले प्यारिसस्थित ‘औपनवेशिक शासनका नेलहरू फाल्न’ कानाक मतदाताहरूलाई आग्रह गरेका छन्। यद्यपि जनमत सर्वेक्षणहरूले बहुसङ्ख्यक मतदाताले स्वतन्त्रतालाई अस्वीकार गर्ने देखाएका छन्।

अस्ट्रेलियादेखि पूर्वमा पर्ने सो क्षेत्रका करिब एक लाख ७५ हजार मानिसहरू मतदानका लागि योग्य छन्। त्यसमध्ये कानाक आदिवासी मतदाताको सङ्ख्या ५० प्रतिशतभन्दा कम छ। सो क्षेत्रका आदिवासी युरोपेलीहरूमा फ्रान्सेली राष्ट्रवाद बलियो छ र पर्यवेक्षकहरूका अनुसार कतिपय कानाक आदिवासीहरू पनि फ्रान्समै रहिरहनुपर्ने पक्षमा छन्।

दुर्गम मानिने उक्त द्वीपले फ्रान्स सरकारबाट वार्षिक करिब डेढ अर्ब डलर पाउने गर्छ।न्यू क्यालेडोनियामा ठूलो मात्रामा निकलको भण्डार छ, जुन विद्युतीय सामग्री बनाउनका लागि चाहिने एउटा महत्त्वपूर्ण धातु हो।

फ्रान्सले सो क्षेत्रलाई राजनीतिक हिसाबले रणनीतिक रूपमा हेर्नुका साथै आर्थिक रूपमा पनि महत्त्वपूर्ण ठान्दछ। गत मेमा न्यू क्यालेडोनियाको राजधानी नुमेआको भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले ‘न्यू क्यालेडोनिया विना फ्रान्सको सौन्दर्य कम हुने’ बताएका थिए।

आइतवारको जनमत सङ्ग्रहमा सहभागी मतदाताहरूलाई यो प्रश्न सोधिएको छः के तपाईँ न्यू क्यालेडोनियाले पूर्ण सार्वभौमिकता पाओस् र स्वतन्त्र होओस् भन्ने चाहनुहुन्छ?

सन् १९८८ मा भएको सहमति अनुसार जनमत सङ्ग्रहको विपक्षमा नतिजा आए सन् २०२२ अघि थप दुई पटक जनमत सङ्ग्रह गराइनेछ। पक्षमा नतिजा आए सन् १९७७ मा जिबुटी र १९८० मा भानुआटु अलग भएपछिको स्वतन्त्र हुने न्यू क्यालेडोनिया फ्रान्सको पहिलो भूभाग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed