![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शुक्रवार नेपाली कांग्रेसको चियापान समारोहमा उपस्थित हुँदै कांग्रेसमाथि नै व्यङग्य कसे । उनले भने, ‘ प्रमुख प्रतिपक्षी कांग्रेस कता हराएको छ भनेर खोजिरहेको थिए, चियापानमा भेटें’
नेता खनालको यो टिप्पणी सामान्य थिएन, सुस्त कांग्रेसको प्रतिबिम्ब थियो । स्वयं कांग्रेस भित्र बिपक्षी दलका रुपमा भूमिका निर्वाह गर्न नसकिरहेको आवाज उठिरहेकाबेला नेता खनालको टिप्पणीले कांग्रेस नेताहरु रन्थनीएका छन। चियापान सकिए लगत्तै घर फर्किनेक्रममा नेताहरुबीच खनालको अभिव्यक्तिलाई लिएर चर्चा चलेको थियो । सबैले उनको भनाइलाई स्वभाविकरुपमा लिएका छन। खासगरी कांग्रेसमा देउवाविरोधी गुटले खनालको अभिव्यक्तिबाट सन्तोष मानेको देखिन्छ । उनीहरुले खनालको भनाईले देउवालाई पुगेको प्रतिक्रिया दिएका छन भने देउवा निकट नेताहरुले कांंग्रेसलाई सक्रिय हुन प्रेरणा मिलेको सकारात्मक प्रतिक्रिया दिएका छन ।
नेकपा भित्र अहिले नेता खनाल एक्लो प्रतिपक्षीका रुपमा देखिएका छन । पार्टी एकता र वरियताका क्रममा समेत बेवास्ता गरिएपछि उनी लगातार नेतृत्वबिरुद्ध बिष बमन गर्दै आइरहेका छन । पछिल्लो समय केही शान्त देखिएपनि उनले आफूमाथिको अन्याय तत्काल सच्याउन पार्टीमा दबाब दिइरहेका छन ।
केन्द्रीय सचिवालय बैठकमा बिभिन्न तहको एकीकरण, प्रदेश प्रतिनिधि चयनमा संस्थापन पक्षलाई मौन समर्थन गरेका खनाल स्थायी कमिटी बैठकमा आफनो एजेण्डा कडाइपूर्वक उठाउने तयारीमा छन। माधव नेपाल पक्षले समेत संस्थापन पक्षलाई आच्छुआच्छु पारेकाबेला स्थायी कमिटी बैठक सर्दै गएको छ । बिधानतः प्रत्येक तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पाँच महिना हुँदा पनि बस्न सकेको छैन ।
नेपाली कांग्रेसका कतिपय नेताहरुले नेता खनालको कटाक्षलाई व्यङग्य नभर्इृ खनालले कांग्रेससंग निकट सम्बन्ध चाहेको हुनसक्ने प्रतिक्रिया दिएका छन । आफनो पार्र्टी भित्र एक्लिएपछि छुट्टै गुट बनाउने घोषणा गरिसकेकाले उनले कांग्रेससंग निकटता खोजेको हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।
जे होस नेता खनालको भनाईले कांग्रेस तरंगित हुनु स्वय पार्टीका लागि मात्र नभई मुलुककै लागि फलदायी हुने अपेक्षा गरिएको छ ।


