![]()
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्याइने छ ।
एन्फाले गठन गरेको समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका एक/एक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पुर्याइनेछ । पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए ।
शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । शहीद स्मारक ए डिभिजन लिगको उपाधि हालसम्म मनाङ् मस्र्याङ्दीले सबैभन्दा बढी सात पटक, आरसीटीले छ पटक, नेपाल पुलिस र थ्रीस्टारले पाँच पटक जितेका छन् ।
त्यस्तै महावीर र संकटा क्लबले तीन पटक जित्दा अन्नपूर्ण र देउराली क्लबले दुई पटक तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स, ब्वाइज युनियन र सुनाखरी एथलेटिक्स क्लबले एक/एक पटक उपाधि जितेका छन् ।


