![]()
काठमाडौ,भदौ ।
मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।
बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आइरहेको भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर आज छुट्टी दिएका छन् । यसैबीच,बकर इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
इदको उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् । उनले नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएको भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । बकर–इद इस्लामका पाँच आधार स्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जानकारी दिए ।
यस्तै,बकर इदको उपलक्ष्यमका कांग्रेस सभापति एंव पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा,पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।


