![]()
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोबाट पीडितहरुलाई अझैपनि राहत वितरण र पुनःस्थापना गर्न ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरु कालीबहादुर मल्ल, रमेशप्रसाद यादवलगायतका सांसदहरुले बाढी–पहिरोप्रभावितहरुलाई सरकारले राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
बैठकमा सांसद अनिता देवकोटाले ‘सरकारले जनतामाथि जथाभावी कर थोपरेर के गर्न खोजेको हो ?’ भनी प्रश्न गरिन् । सांसद रामप्रित पासवानले राजधानीका सडकहरु जीर्ण भएपनि सरकारले सडक सुधार गर्न ध्यान नदिएको भन्दै आलोचना गरे ।
सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानुनविपरीत सम्झौता गरेर अर्को निकायलाई भाडामा दिएको र भाडामा लिने व्यक्तिले पनि वातावरणअनुकूल काम नगरेकाले काम रोक्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद नैनकला ओझाले विराटनगरको एक स्कुलको खानेपानी ट्यांकीमा विष राखेको घटनाबारे तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।
अर्का सांसद दुर्गाप्रसाद उपाध्यायले मलको अभावमा यो वर्ष पनि किसान मारमा परेको भन्दै मलको कृत्रिम अभाव हो वा वास्तविक अभाव हो छानबिन गरी किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।


