![]()
बीबीसी ।शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक’ विमानको परीक्षण गरेको घोषणा गर्यो। ध्वनिको भन्दा ६ गुणा बढी गति भएको उक्त विमान दुई घण्टामा चीनबाट इक्वेडर पुग्नसक्छ।
रुसले गत महिना मिग-३१ एस विमानले क्यास्पियन सागरको निगरानी गरिरहेको र एप्रिलदेखि किन्जल नामक ‘हाइपरसोनिक’ क्षेप्यास्त्र तैनाथ गरिएको बताएको थियो। रुसी रक्षा मन्त्रालयले अन्तरमहादेशीय दूरी तय गर्नसक्ने ‘एभेनगार्ड’ नामक क्षेप्यास्त्र प्रणाली छिट्टै तयार गर्ने बताएको छ। त्यसको ‘हाइपरसोनिक’ गति प्रतिघण्टा २४,१४० किलोमिटर हुनेछ।
सन् २०१५ मा अमेरिकी वायुसेनाले सन् २०२३ सम्ममा ‘हाइपरसोनिक’ अस्त्रको विकास गरिसक्ने घोषणा गरेको थियो। तर रुस र चीनले त्यस्तो अस्त्रको विकास गरिसकेको समाचारपछि अमेरिका चिन्तित बनेको बताइन्छ।
हालै अमेरिकी क्षेप्यास्त्र एजेन्सीले सन् २०१९ को बजेटमा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रणाली विकसित गर्नका लागि १२ करोड डलर माग गरेको थियो। सन् २०१६ मा सोही प्रयोजनका लागि उसले साढे ७ करोड डलर माग गरेको थियो। वाशिङटनस्थित ‘थिङ्क ट्याङ्क’ सीएएफआईपीको परमाणु नीति कार्यक्रमका सह-निर्देशक जेम्स एक्टनका अनुसार ‘हाइपरसोनिक’ अस्त्रको गति ध्वनिको भन्दा पनि तीव्र हुन्छ। विशेषज्ञहरू भन्छन्, “सैद्धान्तिक रुपमा यी पाँच, १० र २० गुणाभन्दा बढी तीव्र रूपमा जानसक्छन् वा ध्वनिको गतिभन्दा तीव्र हुन्छ।”
एक्टनका अनुसार शीतयुद्धपछि नै त्यस्तो अस्त्रको विकास गर्ने आकाङ्क्षा रहिआए पनि त्यसलाई विकसित गर्न कैयौँ चुनौतीको सामना गर्नुपरेको छ। उनी भन्छन्, “हाइपरसोनिक अस्त्रका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम हो किनकि तापक्रम बढेपछि त्यो पग्लिने सम्भावना हुन्छ।”


