![]()
काठमाडौं । साउन ६ गते युरोप गएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई स्वदेश फर्किएका छन् । भ्रमणबाट फर्किने क्रममा उनले भने-वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा पनि देखियो त्यसमा सतर्क हुनुपर्ने महसुस भयो ।
उनले भने, ‘अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको नै हामीले पाउँछौं । युरोपका कतिपय देशहरुमा पनि नयाँ नयाँ शक्तिहरुको उदय हुँदै गएको र पुराना विचार, पुराना पार्टीहरुबाट देशका समस्या हल हुन नसकेको हामीले देख्यौं । थुप्रै देशहरुमा वैकल्पिक राजनीतिक शक्तिहरुको उदय हुँदै गइरहेको हामीले पायौं ।’
भट्टराईले अघि भने, ‘खासगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले छोटै समयमा विजय हासिल गर्नुभयो र उहाँका पार्टीका सांसदहरुसँग हामीले कुरा गर्दा उनीहरुले आफ्नै ढंगले नयाँ विचार अघि ल्याउन खोजेको हामीले पायौं । जर्मनीमा अलिकति दक्षिणपन्थी प्रकारका शक्तिहरुको उदय हुन लागेको अवस्थामा फेरि एकचोटि लोकतान्त्रिक प्रगतिशील शक्तिहरुले वैकल्पिक धार सिर्जना गर्नुपर्छ भन्ने खालको बहस सुरु गरेको हामीले देख्यौं ।’
‘इटलीमा पनि वैकल्पिक राजनीतिक धारबारे बहस भएको हामीले देख्यौुं, उनले भने, यस हिसाबले अहिले २१औं शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरुको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौं । त्यसैले नेपालमा पनि हामीले वैकल्पिक राजनीतिका कुरा गरिराखेका छौं त्यसको सान्दर्भिकता थप बढेको हामीले महसुस गर्यौं ’ भट्टराईले भने ।


