Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।

अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोबाइल किनेको मूल्यको पाँच प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता हुनुभयो भने सो सेवा पाइन्छ ।

हरायो भने मोबाइल धनीको ५० प्रतिशत मात्र लागतमा नयाँ सेट किनिदिने योजना छ । तर केही महिनापछि यो लागत ३० प्रतिशतमा झार्ने योजना सो कम्पनीको छ । मर्मत तथा नयाँ सेटका लागि सम्बन्धित मोबाइल कम्पनीसँग उक्त कम्पनीले सम्झौता गरेको छ ।

मेरो सुरक्षा नामको सफ्टवेयर कम्पनीले काठमाडौँमा गत हप्तादेखि यो सेवा शुरु गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार भन्नुहुन्छ– “हामीले यो सेवा शुरु गरेको हप्तादिनमै हाम्रो एप्स् आठ हजारले ‘डाउनलोड’ गरिसकेका छन् । यस कम्पनीसँग हाल अन्य कर्मचारीका अतिरिक्त १० जना कम्प्युटर इञ्जिनियर र सूचना प्रविधिका विज्ञहरु छन् ।

यस सेवाका लागि एनरोइड मोबाइलका लागि गुगलको ‘प्ले स्टोर’ मा र आइफोनका लागि ‘एप्स् स्टोर’ मा गएर मेरो सुरक्षा डाउनलोड गर्न सकिन्छ । उक्त कम्पनीको एप्स् डाउनलोड गरेपछि प्रत्येक सेटका लागि त्यसको लागत मूल्यको पाँच प्रतिशत रकम अनलाइनबाटै तिरेपछि मेरो सुरक्षाको सञ्जालमा दर्ता हुनेछ ।

यसरी डाउनलोड गरेपछि आफ्नो मोबाइलमा रहेका कुन कुन डाटाहरु सुरक्षित राख्ने भन्ने जानकारी उक्त एप्स्मार्फत नै मोबाइल प्रयोगकर्ताले कम्पनीलाई दिनुपर्छ । उक्त सफ्टवेयरको एप्स्मा रहेको कुनै एउटा बटम थिचेपछि आफ्नो मोबाइलको डाटा सो स्टोरमा जम्मा हुँदै जानेछ । त्यसपछि त मोबाइल सेट हराए वा नष्ट भए पनि त्यसमा रहेका फोन नम्बर र डाटाहरु उक्त स्टोरमा सुरक्षित रहने छन् ।

उक्त कम्पनीका अनुसार हाल नेपालमा करीब तीन करोड ४१ लाख मोबाइल सेट छन् । प्रत्येक वर्ष वैधानिकरुपमा अथवा भन्सार तिरेरै ६० लाख र त्यतिकै संख्यामा भन्सार नतिरी सेट भित्रिन्छन् । तर यो कम्पनीले भने यस वर्षका लागि दुई लाख सेटमात्र आफ्नो सेवाको सदस्य बनाउने लक्ष्य राखेको छ ।

सेवा शुरुवातको हप्तादिनमै तीन हजार मोबाइल सेट कम्पनीमा दर्ता भइसकेका छन् । यसले निकै उत्साहित बनाएको बताउनुहुन्छ मेरो सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनुवार ।

नयाँ किन्ने र पुराना सेटमा पनि यो सेवा उपलब्ध छ । काठमाडौँका लगभग सबैजसो मोबाइल पसलमा यो सेवा लिन चाहनेका लागि सूचना दिइएको सुनुवारको भनाइ छ । काठमाडौँको पुतलीसडकस्थित स्टार मलमा यस कम्पनीको कार्यालय रहे पनि अधिकांशले अनलाइनबाटै सेवा लिएका छन् । सदस्य बन्न अनलाइन भुक्तानी नेपालमा अझै प्रभावकारी नभएकाले कतिपय सेवाग्राही कार्यालयमै आउनुपर्ने अवस्था रहेको छ ।

व्यक्तिको मोबाइलका डाटाहरु भण्डारण गर्ने काम गोपनीयताभित्र पर्दैन भन्ने प्रश्नमा उक्त कम्पनीका निर्देशक विश्वास अधिकारी भन्नुहुन्छ,– “त्यस्तो हुँदैन, हाम्रो एप्स्मा कसैको कुराकानी भण्डारण हुँदैन र मोबाइल प्रयोगकर्ताले जुनजुन डाटाहरु सुरक्षित राखिदिनु भनेका हुन्छन् त्यो मात्र राख्ने हो ।”

मानिसको मोबाइल हराउँदा र नष्ट हुँदा पाएको दुःख देखेर यो सेवा शुरु गर्ने योजना बनेको उहाँको भनाइ छ । रु ५० हजारको मोबाइल बोक्ने मानिसले आफ्नो मोबाइलको सुरक्षाका लागि वर्षमा रु दुई हजार ५०० तिर्न तयार हुन्छ, यो उसका लागि केही होइन । हरायो भने पनि निश्चित खर्चमा नयाँ मोबाइल र आफ्नो मोबाइलमा रहेका डाटाहरु पाइन्छ ।

यस्तो खुशी गएको शुक्रबार यो कम्पनीको सदस्य बन्न स्टार मल पुगेका ज्ञानेश्वरका महेश्वर आचार्यले पनि व्यक्त गर्नुभयो । एउटा महँगो मोबाइल फोन सेट हराउँदा र त्यसपछि किनेको पनि वर्ष दिनपछि पानीमा डुबेकाले त्यसमा रहेका सयौँ फोन नम्बर जम्मा पार्न लागेको दुःख सम्झिँदै उहाँले भन्नुभयो,– “यो सेवा पाउँदा निकै खुशी लागेको छ, अब फोन हराए पनि धेरै चिन्ता गर्नुपर्दैन ।”

अहिले मोबाइलबाट शुरु गरिएको यो सेवा अर्काे वर्षबाट ल्यापटप, ट्याब र कम्प्युटरको सुरक्षामा पनि विस्तार गरिने सुुनुवारको भनाइ छ । पछि यो सेवालाई सबै विद्युतीय उत्पादनसम्म पु¥याउने कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।

एकराज पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.