![]()
काठमाडौं। २७ दिनसम्मको अनसन र त्यसपछि पनि उपचारका क्रममा बिरामीको सेवा गर्न नपाएको भन्दै डा गोविन्द केसी भावुक भएका छन्। मंगलबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले त्यसका लागि क्षमा मागेका छन्।
डा केसीले सत्याग्रह टुंग्याउने क्रममा जनाएको प्रतिवद्धता अनुसार नै चिकित्सा शिक्षा ऐन जारी हुने विश्वास पनि व्यक्त गरेका छन्। केसीले सरकारसँग भएका पछिल्लो सम्झौता २ दिन भित्र कार्यान्यवन नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन्।
‘सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधन सहित तथा तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौं’, उनले भने, ‘यदि त्यसमा छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं तर सरकारले त्यो अवस्था आउन दिने छैन र अब कुनै बहाना वा ढिलाइ नगरी शीघ्र संसदबाट सो ऐन जारी हुने छ भन्नेमा हामी विश्वस्त छौं ।’


