Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्। रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै उनले त्यो ‘इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित’ रहेको बताए।

अमेरिकी प्रतिबन्धहरू विभिन्न क्षेत्रतर्फ लक्षित छन् र त्यसले इरानको तेल व्यापारलाई थप दण्डित गर्नेछन्। युरोपेली संघले अमेरिकी कदमविरुद्ध आवाज उठाउँदै ‘वैधानिक कारोबार’ गरिरहेका कम्पनीहरूको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाएको छ।

रुहानीले अमेरिकी प्रतिबन्धहरूसँग भविष्यमा कुनै पनि पारमाणविक सम्झौताको तारतम्य नमिल्ने बताएका छन्। गत मे मा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सन् २०१५ को अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए।

सो निर्णयलाई सघाउन तेहरानविरुद्धका प्रतिबन्धहरू पुनः ब्युँताइने विषयमा ह्वाइट हाउसले थप विवरणहरू सार्वजनिक गरेपछि इरानी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

इरानले आफ्ना विवादास्पद पारमाणविक कार्यक्रम सीमित पार्ने प्रतिबद्धता जनाएपछि तेहरानविरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्ने गरी तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा पारमाणविक सम्झौता भएको थियो। तर ट्रम्पले उक्त सम्झौता ‘एकपक्षीय’ भएको बताउँदै आएका छन्।

उनले नयाँ आर्थिक दबाबले मात्रै इरानलाई नयाँ सम्झौताका लागि बाध्य पार्न र उसका ‘विध्वंसक’ गतिविधिलाई बन्द गराउनसक्ने बताउने गरेका छन्। अमेरिकी समय अनुसार मंगलवार बिहान १ बजेदेखि लागु हुने गरी ट्रम्पले प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। उक्त कदमपछि रुहानीले अमेरिकाले कूटनीतिलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनले भने, “उनीहरू इरानविरुद्ध मनोवैज्ञानिक युद्ध शुरू गर्न चाहन्छन्। प्रतिबन्धहरू लगाएर वार्ता गर्ने कुराको कुनै अर्थ छैन।”

“हामी सधैँ कूटनीति र वार्ताको पक्षमा छौँ। तर वार्ताका लागि इमानदारी हुनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.