![]()
एजेन्सी । फिल्म बाहुबली, बाहुबली २, रेभेल लगायतका हिट फिल्महरुमा अभिनय गरिसकेकी अभिनेत्री तमन्ना भाटियाको विवाहको चर्चा यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा चुलिएको छ। तर विवाह सम्बन्धका बारेमा आएका समाचारहरुप्रति चुप रहेकी तमन्नाले पछिल्लो समयमा आएर भने आपत्ति जनाएकी छिन्। उनले यसबारेमा आफ्नो ट्विटरमार्फत आपत्ती जनाएकी हुन्।
‘म अहिलेसम्म एक्लै नै खुसी छु र मेरो बुवाआमाले मेरो लागि अहिलेसम्म कोही पनि पुरुषको खोजी गर्नु भएको छैन।’, उनले लेखेकी छिन्, ‘समय-समयमा कहिले डाक्टर, कहिले क्रिकेटर कहिले अभिनेतासँगको विवाह चर्चाका कारण मलाई लागि रहेको छ की कतै म श्रीमान् किन्न सपिङ महल त गएकी छैन? त्यसकारण मेरो निजी जिन्दगीका बारेमा आएका निराधार खबरहरुलाई म बढवा दिन्न।’
माया र प्रेममा रहन रुचाउने तर एक्लो जीवनमै खुसि रहेकाे खुलाएकी तमन्नाले निराधार समाचारहरुलाई प्राथमिकता दिनु अनुचित रहेको समेत उल्लेख गरेकी छिन्। फिल्म, अभिनय र करियरसँग आफ्नो माया बसिरहेकाे समयमा विवाह सम्बन्धि कुराहरु सोच्नसमेत फुर्सद नरहेको बताउँदै तमन्नाले मनगणन्ते कुराका पछि नलाग्न समेत आग्रह गरेकी छिन्।


