Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । युरोपेली संघ (ईयू) सँगका व्यापार अवरोधहरू घटाउन अमेरिका सहमत भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। युरोपेली संघका अध्यक्ष जाँ क्लड युङ्करसँगको एउटा भेटवार्तापछि ट्रम्पले ‘अमेरिका र युरोपेली मुलुकहरूबीचको व्यापार सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको’ बताए।

दुवै नेताले औद्योगिक उत्पादनमा शून्य कर लगाउने दिशामा काम गर्ने, ऊर्जा क्षेत्रमा सहकार्य सशक्त बनाउने, ईयूले अमेरिकाबाट थप तरल ग्यास खरिद गर्ने विषयम सहमति गरेको बताएका छन्। सेवामूलक क्षेत्रमा र ईयूले अमेरिकाबाट थप भटमास किन्नेसहितका कृषि क्षेत्रमा व्यापार बढाउने विषयमा पनि उनीहरू सहमत भएका छन्।

मत्थर

अमेरिका र युरोपेली संघबीच बढ्दो तनावका माझ पछिल्ला सहमतिहरू भएका हुन्। ट्रम्पले युरोपबाट गरिने स्टील तथा एलुमिनियम आयातमा कर लगाएपछि र कारमा कर बढाउने धम्की दिएपछि व्यापार युद्धको सम्भावनालाई दुई नेताले मत्थर पारेका हुन्।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति ट्रम्पको स्पष्ट झुकाव, उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो र ईयूमाथि आक्रमणलाई लिएर अमेरिका र युरोपको सम्बन्ध झन् चिसिँदै गएको थियो।

ह्वाइट हाउसस्थित रोज गार्डेनबाट बोल्दै ट्रम्पले भने, “दुई व्यापार साझेदारहरूबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ।” उनले ‘स्वतन्त्र र निष्पक्ष व्यापारका लागि निकै महत्त्वपूर्ण दिन’ भएको उल्लेख गरे।

महत्त्वपूर्ण

“हामीले वार्ता शुरू गर्न गइरहेका छौँ। तर हामीलाई बिल्कुल थाहा छ त्यो कता जान्छ।” ट्रम्पलाई धन्यवाद दिँदै युङ्करले ‘राम्रो र रचनात्मक बैठक’ भएको प्रतिक्रिया दिए।

भटमास खरिदसम्बन्धी सहमतिबारे ट्रम्पले भने, “ईयूले हाम्रा किसानहरूबाट- खासगरी मध्यपश्चिमबाट- अझ बढी भटमास खरिद गर्नेछ। युरोप एउटा ठूलो बजार हो।”

दुई नेताहरू वार्ता चलिरहेसम्म थप कर लगाउने कदमलाई रोक्ने र विश्व व्यापार संगठनको पुनर्संरचनाका लागि काम गर्ने सहमति पनि गरेका छन्। यङ्करले औद्योगिक उत्पादनहरूमा शून्य कर लगाउने विषयमा सहमति खोज्नु आफ्नो ‘प्रमुख उद्देश्य’ भएको बताए।

उनले भने, “एउटा सम्झौता गर्ने मेरो उद्देश्य थियो र हामीले सम्झौता गर्‍यौँ। हामीले थुप्रै क्षेत्रमा मिलेर काम गर्नुपर्नेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed