![]()
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउनुभयो । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएका दिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुन पर्यो । चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ गर्यौं । ”
प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको धारणा राख्नुभयो । “उनीहरुलाई खटपट भएको छ ,जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्न गर्नुभएको छ “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ । ” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ । ”


