![]()
बीबीसी । चिनियाँ राष्ट्रपति सि चिनफिङ दक्षिण अफ्रिका पुगेका छन् । उनी दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण अफ्रिका पुग्नुभएको अधिकारीहरुले समाचारमा जनाएका छन् ।
दोस्रो पटकको कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हालेपछि राष्ट्रपति चिनफिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा आएका हुन् ।
यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण अफ्रिका ओर्लिएपछि दिनुभएको संक्षिप्त प्रतिक्रियामा राष्ट्रपति चिनफिङले गएको २० वर्षमा चीन र दक्षिण अफ्रिका बीचको सम्बन्ध निकै राम्रो विकास भएको बताएका छन् ।
हामीबीच २० वर्षअघि शुरु भएको सम्बन्ध आजका दिनमा आइपुग्दा राणनीतिक साझेदारीका रुपमा विकास भएको र आगामी दिनमा यसलाई अझ सुमधुर र सुदृढ बनाउदै लानुपर्ने धारणा उनले राखे । उनले राजनीतिक रुपमा आपसी पारस्परिक विश्वासका साथै सहयोग समन्वय, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा पनि विश्वासिलो वातावरण निर्माण भएको पनि बताए ।
दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार रहेको छ । त्यस्तै दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । यी दुई देशबीचको व्यापारिक साझेदारिता पनि आजका दिनमा बढ्दो रुपमा रहेको बताइन्छ ।
राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुनुहुने छ । सो सम्मेलन यही जुलाई २५ देखि २७ सम्म आयोजना गरिएको छ ।


