![]()
एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले रोहिंग्या समस्या समाधानका लागि म्यानमार सरकारलाई आग्रह गरेको छ । म्यानमारको एक अल्पसङ्ख्यक जातीय समूह रोहिंग्यामाथि म्यानमारको सेनाले ज्यादति गरेपछि देश छोडेर भागी बङ्गलादेशमा रहेका छन् ।
गत वर्षदेखि बङ्गलादेशको कोक्स बजारमा शरणार्थीका रुपमा रहेका उनीहरुका सङ्ख्या करिब सात लाख रहेको बताइएको छ ।
गत अगष्टदेखि यति ठूलो सङ्ख्यामा भागेर त्यहाँ पुगेका उनीहरु शरणार्थीको रुपमा जीवन व्यतित गरिरहेका छन् । उनीहरुलाई स्वदेश फर्काउन भन्दै बङ्गलादेश र म्यानमारका बीचमा कैयौँ पटक बैठक भएको भए पनि त्यो सार्थक भने हुन सकिरहेको छैन ।
पन्ध्र सदस्यीय उक्त परिषद्को बैठकले म्यानमार सरकारलाई रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउनका लागि जतिसक्दो चाँडो प्रयास गर्न आग्रह गरेको छ । साथै बङ्गलादेशमा निकै अप्ठेरो अवस्थामा जीवन गुजारिरहेका शरणार्थीलाई सहायताका लागि पनि उक्त परिषदले आग्रह गरेको छ ।
उनीहरुलाई आधारभू्त आवश्यकताको प्रबन्धका लागि सहयोग गर्न र विनाशर्त स्वदेश फर्काउने वातावरण निर्माण गर्न पनि सुरक्षा परिषद्ले आग्रह गरेको छ ।


