Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । स्टार खेलाडी नेइमारले आफू फ्रेन्च लिगा वान क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीमै बस्ने स्पष्ट पारेका छन् । नेइमारले इएसपिएन ब्राजिलसँगको कुराकानीको क्रममा आफू पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेको बताएका हुन् ।

नेइमार स्पेनिस क्लब रियल मड्रिड जाने वा उनलाई भित्र्याउनका लागि रियल मड्रिड ठूलो रकम तिर्न तयार रहेको खबर आइरहेका बेला नेइमारले भने आफू पिएसजीमै बस्ने बताएका हुन् ।

उनी गएको वर्ष बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका हुन् । उनलाई क्लब भित्र्याउनका लागि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज लामो समयदेखि प्रयासरत रहेको खबर आउने गरेका छन् । तर नेइमारले भने आफू लिग वान च्याम्पियन पिएसजीबाटै अरु धेरै ट्रफी जित्न चाहेको बताएका हुन् । नेइमारले आफू रियल मड्रिड जान चाहेको वा रियल मड्रिडले त्यसका लागि प्रस्ताव गरेको भन्ने खबर नियोजित रहेको पनि बताएका छन् ।

नेइमारले भनेका छन्, ‘पक्कै पनि, म पेरिसमै बस्नेछु । पिएसजीसँग मेरो सम्झौता छ । छोड्न चाहेको भन्ने कुराका अधिकांश हिस्सा मिडियाले बताएका कुरा हुन् ।’

उनले अघि भने, ‘म पिएसजी किन आएको भन्ने सबैलाई थाहा छ । म यो क्लबबाट बाँकी रहेका बसै कुरा जित्न चाहन्छु, अबको सिजन थप उत्साहित हुने आश छ ।’

यस्तै नेइमारले ब्राजिल विश्वकपबाट बाहिरिनु आफ्ना लागि स्वीकार गर्न कठिन भएको पनि बताएका छन् । ब्राजिल अन्तिम ८ मा बेल्जियमसँग पराजित भएर घर फर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.