![]()
एजेन्सी ।रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई बिक्री गरेर ऐतिहासिक गल्ती गरेको क्लबका पूर्व अध्यक्ष रामोन काल्डेरोनले बताएका छन् । रोनाल्डो ११२ मिलियन युरोमा रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् ।
रोनाल्डोलाई युभेन्टसले औपचारिक रुपमा समर्थक समक्ष पेश पनि गरिसकेको छ । ३३ वर्षका रोनाल्डो रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले रियल मड्रिडबाट ४३८ खेलमा ४५० गोल गरेका छन् । यस्तै उनले चारपटक च्याम्पियन्स लिगको उपाधि जिते ।
रोनाल्डोलाई सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल ल्याउन प्रमुख भूमिका खेलेका काल्डेरोनका अनुसार क्लबले ठूलो गल्ती गरेको छ, रोनाल्डोलाई बेचेर ।
उनले भनेका छन्, ‘क्रिष्टियानो रोनाल्डो जस्तो खेलाडीलाई बेचेर उनीहरु (रियल मड्रिड) ले ठूलो गल्ती गरे, उनलाई निकै प्रयास गरेर ल्याइएको थियो । युनाइटेड बेच्न तयार थिएन । त्यसरी ल्याएको खेलाडीलाई रियलले अर्को क्लब पठाउनु हुँदैनथ्यो ।’
जति ठूलो रकम पाए पनि रोनाल्डोलाई बेच्नु राम्रो नभएको उनको भनाई छ ।


