![]()
एजेन्सी । अमेरिकी टेलिभिजन स्टार काइली जेनर खर्बपतिहरूको सूचीमा परेकी छन् । उनी अहिलेसम्मकी कान्छी खर्बपति हुन् जो आफ्नै बलबुतामा यत्तिका सम्पत्तिको मालिक बनेकी छन् । बीस वर्षे जेनरले तीन वर्षको अन्तरालमा ९ सय मिलियन डलर कमाएसँगै उनलाई खर्बपति भन्न थालिएको छ ।
किम, ख्लोई र कटर्नी कादर्सियनहरूकी सौतेनी बहिनीसमेत रहेकी काइली टीभी प्रस्तोता त हुन् नै । उनले यत्तिका सम्पत्ति भने आफ्नो कस्मेटिक कम्पनीमार्फत कमाएकी हुन् । फोब्र्स म्यागाजिनका अनुसार उनले सन् २०१६ यता ६ सय ३० मिलियन डलरको मेकअप सामग्री बेचिसकेकी छन् । सुरुमा २९ डलर पर्ने लिपिस्टिक सेट लन्च गरेकी उनी यति चाँडै अर्बौंको व्यापार गर्न सफल भएकी हुन् ।
कम्पनीको सम्पूर्ण मुनाफा काइली एक्लैले भोग गर्न पाउँछिन् । यसमा उनले कसैसँग साझेदारी गरेकी छैनन् । कम्पनीबाट आठ सय मिलियन हासिल गरेकी उनी टीभी कार्यक्रम र विज्ञापनबाट पनि लोभलाग्दो आम्दानी गर्छिन् । आर्थिक समाचारमा अग्रणी फोब्र्स म्यागाजिनका अनुसार काइलीले कर काटिवरी ९ सय मिलियन डलर चोखो हात पार्छिन् ।
अब चाँडै खर्बपति बन्ने भएपछि उनलाई अहिले नै ‘योङगेस्ट सेल्फ–मेड बिलिनियर’ भन्न थालिएको छ ।


