![]()
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति सरकारले नियतवश खेलवाड गरिरहेको आरोप लगाएका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जीएको उल्लेख गरेका छन्।
‘शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ। डा. केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको छ। अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु।’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले डा. गोविन्द केसीको स्वास्थ्य स्थिति थप बिग्रदै गएको खबरले आफूलाई गम्भीर बनाएको बताएका छन्।
‘यस्तो स्थिति उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु। चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा.केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु,’ देउवाले भनेका छन्।
देउवाले माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने बताएका छन्।
‘मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको थियो । डा. केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने मेरो दृढ निश्कर्ष छ,’ देउवाले भनेका छन् ।


