![]()
बीबीसी । चीनमा एक चर्चित प्रजातन्त्रवादी अभियानकर्तालाई ‘राज्यविरुद्धको षड्यन्त्र’ गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ। चौसट्ठी वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन्।
यसअघि एकजना मानव अधिकारवादी वकिलले चिन योङले ‘अदालतलाई सहयोग गर्न अस्वीकार गरेको’ र मुद्दाको सुनुवाइका क्रममा केही बोल्न नमानेको बताएका थिए। मध्यचीनको वूखान नगरस्थित एउटा अदालतले चिन योङ दोषी पाइएको अनलाइनमार्फत् पुष्टि गरेको हो।
चाइनिज ह्युमन राइट्स डिफेन्डर नामक संस्थामा अनुसन्धानकर्ताका रूपमा कार्यरत फ्रान्सिस इभले चिन योङलाई ‘एउटा प्रजातान्त्रिक चीनमा विश्वास राखेका कारण र मानव अधिकारको पक्षमा वकालत गरेकाले दोषी ठहर्याइएको’ बताइन्। उनले थपिन्, “तीन वर्षसम्म अनुसन्धान गरे पनि अधिकारीहरूले उनीविरुद्ध प्रमाण जुटाउन सकेनन्।”
चिन योङ चाइना डेमोक्र्यासी पार्टीका सह-संस्थापक हुन्। सन् १९९८ मा औपचारिक रूपमा दल दर्ता गराउन खोजेपछि उनलाई १२ वर्ष जेल सजाय सुनाइएको थियो। त्यसको एक वर्षपछि जेलमै भएको बेला नोबेल शान्ति पुरस्कारका लागि उनी मनोनीत भए। सन् २०१५ को ज्यानुअरीमा पक्राउ पर्ने बेला उनले चीनको प्रजातन्त्र पक्षधर चाइना ह्युमन राइट्स वाचको नेतृत्व गरिरहेका थिए।
सो संस्थाका गतिविधिमा समूहगत छलफलको आयोजना र अनलाइनमार्फत् सरकारी नीतिको आलोचना गर्ने रहेका छन्। चिनियाँ सरकारका आलोचक एक जना नोबेल शान्ति पुरस्कार विजेताकी श्रीमती बेइजिङ छाडेर जर्मनी गएको भोलिपल्ट चिन योङलाई जेल सजाय सुनाइएको खबर बाहिर आएको हो।
लिउ शियाओबोले सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाएयता उनकी ५७ वर्षीया श्रीमती लिउ सियालाई बेइजिङस्थित निवासमा नजरबन्दमा राखिएको थियो। विश्वविद्यालयका प्राध्यापकबाट अधिकारवादी बनेका लिउ शियाओबोलाई राज्यविरुद्धको षड्यन्त्र गर्न उक्साएको आरोपमा सन् २००९ मा जेल सजाय सुनाइएको थियो।
गत वर्ष कलेजोको क्यान्सरबाट लिउ शियाओबोको निधन भएको थियो।


