![]()
काठमाडौ,असार ।
कामदारको न्यूनतम् तलव १३ हजार ४५० रुपैयाँ बनाउन सिफारिस गरिएको छ । यसअघि ९ हजार ७ सय रुपैयाँ रहेको न्यनतम् पारिश्रमिकमा ३७ सय ५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकलाई रोजगारदाताले दिनुपर्ने सुविधा जोड्दा अब मजदुरले मासिक १६ सय ९० रुपैयाँ बढीको सुविधा पनि प्राप्त गर्नेछन् । यसअनुसार १५ हजार १४० बरारको लाभ मजदुरलाई हुनेछ ।
यसबारे सोमबार श्रम तथा रोजगार मन्त्रालयमा एक पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । तर,यो सहमतिमा कांग्रेससम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसले असहमति जनाएको छ । उसले न्यनतम् तलब १७ हजार रुपैयाँ हुनुपर्ने, नभए सबै मजदुरको तलव हाल कायम रहेकोभन्दा ३७ सय ५० रुपैयाँ बढ्नुपर्ने माग गरेको छ ।
सुरुमा सहमति जनाए पनि हस्ताक्षरको समयमा ट्रेड युनियन कांग्रेसले स्वीकार नगरेपछि मस्यौदा सिफारिस श्रम मन्त्री गोकर्ण बिष्टसम्म आइपुगेको छ । अब सरकारले त्यसैअनुरुप निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि साउनबाट यो पारिश्रमिक लागू हुनेछ । यसअनुसार अब चिया मजदुरबाहेक सबैले न्यनततम् १३ हजार ४ सय ५० रुपैयाँ तलव पाउनेछन् । मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा बैशाख ७ मा न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको थियो ।
समितिले न्यूनतम पारिश्रमिक निर्धारणको अन्तर्राष्ट्रिय अभ्यास, प्रचलित बजार मूल्य, देशको मौजुदा आर्थिक र मौद्रिक स्थिति, सामाजिक सुरक्षाको व्यवस्था, प्रतिष्ठानहरूको दिनसक्ने क्षमता, तुलनात्मक ज्यालादर, न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति तथा श्रमिकको उत्पादकत्वलाई मुख्य आधार मानी न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।
रोजगारदाताको क्षमता र श्रमिकहरूको माग समेतलाई विचार गरी विभिन्न चरणमा भएका द्बिपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय बैठक, छलफल र अन्तरक्रियाको परिणामस्वरूप सहमतिबाटै न्यूनतम पारिश्रमिक पारिश्रमिक निर्धारण गरिएको मन्त्री बिष्टले जानकारी दिए ।
मुलुकभर लागू हुने नयाँ न्यूनतम पारिश्रमिकको आधारमा दैनिक ज्याला ५१७ रुपैयाँ र प्रति घण्टा ज्याला ६९ रुपैयाँ तोकिएको छ ।
कायम भएको न्यूनतम पारिश्रमिकका आधारमा श्रमिकहरूको सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा कोष कट्टी क्रमसः१० प्रतिशत, ८.३३ प्रतिशत र १.६७ प्रतिशत थप भई श्रमिक सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ ।
यसका आधारमा तलवभन्दा बढी १६ सय ९० रुपैयाँको थप लाभ मजदुरले पाउनेछन् । यसअनुसार मजदुरलाई अब १५ हजार १४० रुपैयाँ बराकरको मापसिक लाभ मिल्नेछ । यसका अलाबा श्रमिकले पाउने चाडपर्व खर्च, बिदा वापतको भूक्तानी, सुत्केरी एवम् सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवम् दुर्घटना वीमा बापतको रकम समेतमा बृद्धि हुनेछ । करिब ३९ प्रतिशतले बृद्धि भएको यो न्यूनतम पारिश्रमिक एवम् सुविधा हालसम्मकै उच्च रहेको दावी मन्त्री बिष्टले गरे ।


