![]()
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले अनधिकृत तवरले रकम बाँडेको भन्ने आरोपमाथि राष्ट्रियसभा बैठकमा सफाई दिएका छन । उनले नियमित दिइँदै आएको रकम यस वर्ष पनि दिएको स्वीकार गरेका छन ।
विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत रूपमा बाँडफाँट गरिएको बजेटमाथिको छलफलमा प्रष्टिकरण दिँदै मन्त्री अधिकारीले भने, “अघिल्लो वर्षमा दिँइदै आएको रकम दिइएको हो । यस वर्षमात्रै बाँडिएको होइन ।”
जीपी फाउन्डेसन, गणेशमानसिंह फाउन्डेशन, पुष्पलाल स्मृति प्रतिष्ठान, रामानन्दाचार्य सेवा पीठ, दाहाल प्रतिष्ठान, नई प्रकाशन, बगर फाउन्डेसन, किताब–चरो नेपाल, जोन जोन शिक्षा प्रतिष्ठान, साहित्य शृंखलालगायतले मन्त्रालयबाट अनुदान पाएका थिए ।
उनले नियमित दिँदै आएको अनुदान कटौती गरी बरु ३० करोडमात्रै दिइएको र सधैँ प्रतिष्ठानलगायत अन्य संस्थालाई दिइँदै आएको अनुदानमध्ये केही नाटकसम्बन्धी संस्थालाई समेत दिइएको जानकारी दिए ।
मन्त्री अधिकारीले रकम नदिँदा परम्परा बिगारेको आरोप लाग्ने, रकम दिँदा मन्त्रीले आफूखुसी बाँडेको भन्दै टीकाटिप्पणी भएको गुनासो पनि गरे ।


