Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फिफा विश्वकप २०१८ःसेमिफाइनल समिकरण पूरा……

Loading

मस्को,असार ।
रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ। शनिबार रातिको अन्तिम क्वाटर फाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो। क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन्।
सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन्। फाईनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। युरोकपको उपविजेतासमेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पन्छाउँदै यो विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टोली बन्यो। यो सँगै फ्रान्स छैठौं पटक अन्तिम चारमा पुगिसकेको छ। दुई पटक फाइनल खेलेको उसले सन् १९९८ मा विश्वकप जितेको थियो भने सन् २००६ मा दोस्रो भएको थियो। यस्तै सन् १९५८ र १९८६ मा तेस्रो भएको थियो भने सन् १९८२ मा चौथो स्थानमा चित्त बुझाएको थियो।
यस्तै पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध बनाउँदै अर्को युरोपेली मुलुक बेल्जियम सेमिफाइनल पुग्ने दोस्रो टिम बन्यो। बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनल प्रवेश गरेको हो। उसले सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुग्दै चौथो भएको थियो।
इङ्ल्याण्डले स्विडेनलाई २–०ले हराउँदै १८ वर्षपछि विश्वकपको सेमिफाईनलमा प्रवेश गर्‍यो । सन् १९६६ को विजेता इंल्याण्डले सन् १९९० को विश्वकपमा सेमिफाइनलसम्म पुगेर चौथो भएको थियो।
प्रतियोगिताको अन्तिम क्वार्टरफाईनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसिया सेमिफाईनलमा स्थान बनाउन सफल भयो। यो सँगै क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको हो। यसघि सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै तेस्रो भएको थियो।
अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुनेछ। दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ।
दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति हुनेछ। लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.