![]()
काठमाडौ,असार ।
निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष बनाउन केही उच्चपदस्थ कर्मचारीहरु लागेका छन्। हाल छलफलमा रहेको निजामती सेवा ऐनको मस्यौदामा उमेरहद ५८ वर्ष नै राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले एक वर्षपछि लागू हुनेगरी उमेरहद बढाएर ६० वर्ष बनाउन राय दिएको छ। निवृत्तिभरणको बोझ बढेको तथा नयाँ संरचनामा अनुभवी कर्मचारी चाहिने भएकाले उमेरहद ६० वर्ष राख्न उचित हुने मन्त्रालयको राय छ। संघीय निजामती ऐनको मस्यौदाउपर अर्थ मन्त्रालयले दिएको रायमा भनिएको छः‘उमेरहद बढाउँदा वृत्ति विकासलाई ध्यानमा राखी १ वर्षपछि मात्र लागू हुनेगरी वर्तमान व्यवस्थामा थप प्रावधान राख्ने।’
विभिन्न पार्टीनिकट कर्मचारीहरुले निजामती सेवामा ट्रेड युनियन राख्न दबाव दिएका छन्। हालको मस्यौदामा आधिकारिक ट्रेड युनियन बाहेक पार्टी निकट ट्रेड युनियनहरु खारेज गर्ने प्रस्ताव गरिएको छ। तर, पार्टीको आडमा राजनीतिमा लागेका कर्मचारी नेताहरुले ट्रेड युनियन राख्न मन्त्रीहरुलाई दबाव दिइरहेका छन्। अर्थ मन्त्रालयले पनि नायव सुब्बासम्मको कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने राय दिएको छ।
पार्टीनिकट ट्रेड युनियनका नेताहरु उपसचिवसम्मकै कर्मचारीलाई ट्रेड युनियन अधिकार दिनुपर्ने पक्षमा छन्।


