![]()
काठमाडौं । डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना छुटेका छन् भने ६ जना प्रहरी नियन्त्रणमा छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा. केसी र छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर वीर अस्पतालमा अनसनरत गंगामायाको जीवन रक्षाका लागि दबाव दिन डा. गोविन्द केसी एलायन्सले माइतीघर मण्डलामा प्रर्दशन गरेको थियो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै इन्द्रप्रसाद अर्याल, चरण प्रसाई, महमणिक आचार्य, लोकराज अवस्थी, विश्व दुलाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उदय प्याकुरेल, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेलाई पक्राउ गरेको हो ।
अनसनरत केसी र अधिकारीको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने प्रदर्शनकारीले माग गरेका थिए । मानव अधिकारकर्मी चरण प्रसाइले सरकार जवाफदेही नभएको प्रतिक्रिया दिएका छन् ।


